वीपीलाई नचिन्ने अनि ‘दाह्रीवाल बूढा को हुन्’ भन्नेहरु कांग्रेस महाधिवेशनको प्रतिनिधि

-नवराज लम्साल


काठमाडौं । नीतिगत दस्ताबेजको स्वीकृति÷अस्वीकृति तथा विधान संशोधनको पक्ष÷विपक्षको दोहोरो चेपबाट नेपाली कांग्रेस आफ्नो १३औँ महाधिवेशनको सुरुङमा छिर्दै छ । देशलाई उज्यालो दिँदैआएको कांग्रेसको आफ्नै आन्तरिक जीवन सदा अत्यधिक अँध्यारोमा

नवराज लम्साल

नवराज लम्साल

छ । पार्टीको आन्तरिक अभ्यास र लोकतान्त्रिक खेल निराश, उत्साहहीन र प्रत्युत्पादक घटनासहित बढेको तर्क गरिँदैछ ।

यसपटक तन्नेरी पुस्ताले अभूतपुर्व हस्तक्षेपकारी उपस्थिति देखाएका छन्। पत्रपत्रिकाले छापेका आँकडाअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधि ४० वर्षभन्दा कम उमेरका छन्। ५५ प्रतिशत प्रतिनिधि नयाँ अनुहारका छन् । यसले कांगे्रस बूढाहरुको मात्र पार्टी हो भन्ने कुरालाई चिरेको छ । तर त्यो उज्यालो पक्ष छोप्नेगरी अन्य धेरै नकारात्मक काम अझै रोकिएका छैनन् ।

यिनै तन्नेरीले रोज्नुपर्छ आफ्नो बाटो र खोज्नुपर्छ विधि । यिनीहरु पनि कसैका खोरका बाख्रा नबनून् र परिवर्तनका लागि छाती खोलेर अगाडि आऊन् । यो समयको माग हो। समय कांग्रेसमा परिवर्तन खोजिरहेछ । परिवर्तनको खोजी सार्थक बनाउन समस्या र खराबीको निर्मम चिरफार गर्न जरुरी छ । त्यो समय यही हो ।

आज विधि, विचार र बहसभन्दा बढी व्यथितिले ठाउँ लिएको देखिँदैछ । कतिपय ठाउँमा पार्टीको आन्तरिक मैत्रीपूर्ण प्रतिष्पर्धा होइन, विपक्षी दलसँग चुनाव लडेको शैलीमा आफ्नो विरासत कसैले खोस्नै लागेझैँ हतासोमा अनेकौँ हर्कत देखिएको छ। बुथ कब्जा गर्ने, धम्क्याउने, प्रतिनिधि खरिदबिक्री गर्ने र अनपेक्षित दबाब र प्रभावमा पार्नेजस्ता घटनाक्रम सुनिएका÷सुनाइएका छन् ।

गाउँको बुथ र नगरको वडा समितिमा कतिपय क्रियाशील सदस्य मतदान गर्न पुग्नुअघि नै कुनै भुसतिघ्रेले सबै मत बोकेर सदरमुकाम झरिसकेको पनि देखिएको छ । प्रतिनिधिलाई रातभर कुनै अनपेक्षित प्रभावमा राखेर मेरो भोट फलानाले हाल्ने छ भन्न लगाई एकै व्यक्तिले सय भोटसम्म हालेका पनि छन् ।

यो काम पार्टी कार्यालय कब्जा गरेर बसेकाका संस्थागत प्रयासमा बढी देखिएको छ । महाधिवेशन आन्तरिक लोकतान्त्रिक खेल होइन, जीवनमरणको चुनावी सवालजस्तो देखिएको छ । जसका कारण निष्ठा भन्नेहरुले निष्ठा बेचेजस्तो, त्याग भन्नेले त्याग बेचेजस्तो र संस्थागत कुरा गर्नेले संस्थाकै स्वरुपलाई कुरुप पारेजस्तो देखिँदो छ ।

पार्टी्भित्र वर्तमानमा जस्तो आन्तरिक विचलन, विकृति र विरोधाभास कांग्रेसमा कहिल्यै थिएन। कांग्रेस पार्टी स्वयं कांग्रेसले हाँकिरहेछ कि ऊ कुनै अभिशप्त हिँडाइमा छ, लुरुलुरु ? ननिचोरी घाउ निको हुन्न भनेझैँ कांग्रेसीजनले कांग्रेस पार्टीको आन्तरिक जीवनको तत्काल निर्मम समीक्षा गर्न अत्यन्त जरुरी भएको छ ।

सभापति सुशील कोइरालाको स्वास्थ्यस्थिति लुकाएर कम्तिमा अन्तिम अवस्थामा अस्पतालस्म्म नलानुले पनि हर्कतका दृष्टान्त पेश गर्दछ । ती निरीह महात्मनालाई जबर्जस्त मारियो भन्नेसम्मको तर्क उठ्नुले कति घातक छ, कांग्रेस राजनीतिको आन्तरिक जीवन भन्ने देखाएको छ । सामान्यतया महाधिवेशन विचारको बहस, पद्धतिको विकास र आन्तरिक समस्याका पहिचानसहित संगठन निर्माणको विधिसम्मत प्रक्रिया हो ।

कांग्रेसको यो महाधिवेशन ती सबै कुरा बिर्सेर व्यक्तिगत विजय र जसरी पनि विजयको सामान्य सरल रेखाभन्दामाथि उठेको देखिएको छैन । गुटबन्दी र तिक्तताको रौँचिरा प्रभाव गाउँ र वडासम्म पुगेको प्रष्ट देखिएको छ । यो चिराको घाउ निको भए पनि खत निको हुने छैन । कांगेस नेतृत्व वैचारिक र बौद्धिकभन्दा प्राविधिक, कोठे र पारिवारिक बनेको दसकौं भइसक्यो ।

उज्यालो नछिर्नेगरी कोठा बनाए अक्सिजन कम कम हुँदैजान्छ । आज कांग्रेस केही सीमितहरुको बन्द कोठामा छ र अक्सिजन कम हुँदैगएको आभास भएको छ । त्यही छटपटाहटको प्रतिच्छाया देखिँदैछ महाधिवेशन स्थलहरुमा। पार्टी्भित्र जीवन बिताएका लामो संघर्ष गरेका र भविश्य भएकाहरुलाई दोस्रो दर्जा ठानेर आफू, आफ्ना र आफन्तकै ओढारमा कति दिन राख्ने कांग्रेस ?

विचार समूहको भिन्नता कुन अपराध हो ? दृष्टिकोणको यो अपराधीपन आजै तोड्नु छ र नयाँ बाटो खोज्नु छ तन्नेरीहरुले । विचारको बहस छैन । कांग्रेसले भन्दैआएको लोकतान्त्रिक समाजवाद र त्यसको प्रयोग के र कसरी हुन े? आधुनिकता, औद्योगीकरण र अन्तर्रा्ष्ट्रियकरणका सवालमा कांग्रेस कहाँ छ र स्थिति के हा े? गावैदेखि बहस हुने कि नहुने ?

किन जनता दिनहुँ गरीबको गरीबै छन ? लाखौँ तन्नेरीलाई विदेश पठाएर हामी कसका लागि देश बनाइरहेछौँ ? कसका लागि छ लोकतन्त्र र लोकतन्त्रले कसकसलाई के के दियो ? व्यक्तिगत लाभहानीकै जोडघटाउमा देशलाई जुवाको खालमा हालिरहने को हो ? कुनै राजनीतक घरानाको एउटी सहयोगी कुनै परिवारलाई भात पकाएको ज्यालास्वरुप सभासद् हुन्छे तर महिला सशक्तीकरणका लागि बौद्धिक अभ्यास गरिरहेकी प्राध्यापक स्तरकी बौद्धिक नारी सडकमा हिँडिरहन्छे, किन ?

खासमा एउटा व्यक्ति अन्य पार्टीमा नलागेर कांग्रेसमै लाग्नुका कारण के भन्नेसम्मको बहस पनि कहीँकतै देखिएको छैन । बाउ कांग्रेस थियो त्यसकारण कांग्रेस । गर्भैदेखि कांग्रेस । त्यसकारण कांग्रेस, छिमेकी कांग्रेस । त्यसकारण कांग्रेस वा कम्युनिष्ट हुन मन लागेन त्यसकारण कांग्रेस । पचास प्रतिशतभन्दा बढी कांग्रेस आफू कांग्रेस भएर पनि कांग्रेस चिन्दैनन् ।

मुलुकको वामपन्थीकरण र सत्तामा देखिएको घोर दक्षिणपन्थी र घोर वामपन्थी, घोर गणतन्त्रवादी र घोर गणतन्त्रविरोधी तथा घोर संघीतावादी र घोर संघीयताविरोधीबीचको अपूर्व गठबन्धन र त्यसले दिने प्रभावबारे कतै चर्चासम्म छैन। संविधान कार्यान्वयन भए दुई वर्ष्भित्रमा स्थानीय, संघीय निर्वाचन हुनेछ र त्यहाँ पार्टीले कसरी प्रतिष्पर्धा गर्छ भन्ने हेक्का छैन ।

अब कार्यक्रम र रणनीतिसहित मुख खोल्ने कि नखोल्ने ? आन्तरिक बाँडफाँड र पद विभाजनमा रुमल्लिरहनेहरुले यी र यस्ता कुराको बहस कहिले गर्लान्न् ? समावेसीता एउटा सौन्दर्य हो। तर त्यही समावेसीता आन्तरिक चलखेलको आधार बनेको छ । गैरराजनीतिक झुण्डलाई त्यही बाटो प्रयोग गरी पार्टीमा प्रवेश गराइने बाटो खुलेको छ ।

प्रवेश समर्थनको कुरा भयो तर यहाँ त नेताका रुपमा महाधिवेशन प्रतिनिधि बनाइएका कतिपय व्यक्ति कम्तीमा वीपीसम्म चिन्दैनन्।१२औँ महाधिवेशनमै कांग्रेस केन्द्रीय कार्यालय पुगेका एकजना महाधिवेशन प्रतिनिधिले वीपीको तस्बिर देखाउँदै भनेका थिए –यो दाह्रीवाल बूढाको फोटो जताततै देखिन्छ, को रै‘छन् यी ?

यसपटक यसै प्रकारका महाधिवेशन प्रतिनिधिको उपस्थिति झन् बढी देखिन्छ र यो प्रक्रिया संस्थागत रुपमा भएको पाइएको छ । विधानअनुसार समावेसी हुनैपर्ने र त्यसमा दलित, महिला, अपाङ्गता भएका, अल्पसङ्ख्यक र आदिवासी कोटाभित्र नेता विशेषको विजयका लागि प्रभाव पार्न सकिने व्यक्तिको प्रवेश गराइएको छ ।

समावेशी चरित्र मूलधारमा आउन नसक्नेका लागि हुनुपर्नेमा हर्ताकर्ता बाह्रमासेले यसलाई आफू सुरक्षित हुने राजनीतिक भ¥याङका रुपमा प्रयोग गरेको देखिएको छ । केन्द्रको ठूलै पद हत्याउँछु भन्नेले समेत खुला प्रतिष्पर्धा गर्ने आँट नगरेर त्यही शक्तिहीनहरुलाई आरक्षित गर्न छुट्याइएको कोटाकै बाटोबाट सुरक्षित हुने तरीका अपनाएका छन् ।

त्यसो त धेरैलाई भ्रम छ – २०६४ मा ३७ सिट ल्याएको कांग्रेस २०७० मा एक सय छ सिट ल्याएर साह्रै ठूलो भयो। यो कांग्रेस राम्रो भएको होइन, अरु नराम्रा भएको परिणाम हो । ३७ सिट ल्याउँदा २३ लाख मत थियो र एक सय छमा पुग्दा २६ लाख मत। तीन लाख भोट त “मासबेस” पार्टीका लागि केही होइन ।

विचारोत्तेजक भाषणकला भएका पाँचजनालाई देशैभरका आमसभामा प्रयोग गरे पाँच लाख भोट त्यसै बढ्छ। यहाँ भोट घटबडको कुरा होइन, विचार र यसको प्रयोगले दीक्षित व्यक्ति बढे कि बढेनन् भन्ने कुरा ठूलो हो। एउटा चुनावी मौसमले केही हुने रहेनछ । मूल कुरा जनताको भरोसा रहेछ । २००७ सालमा पुरै देश कांग्रेसमय थियो ।

२०१५ मा दुई तिहाइ थियो तर त्यही विजयको हारमा पञ्चायतले ३० वर्ष खायो । प्राविधिक जीतहार होइन, विचारले दीक्षित जनता मात्र लोकतन्त्रका ढुकढुकी हुन् । आज लोकतान्त्रिक ढुकढुकी मन्दमन्द छ । २०७० मा ठूलो पार्टी बने÷बनाइए पनि आज कार्यकर्ता तहमा पराजय र निराशा छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा सरकारमा कतै पनि कांग्रेसको उपस्थिति छैन ।

पुनर्निर्माण विधेयक र संविधान संशोधनका क्रममा महिना दिनभित्रै मिल्नैपर्ने शक्तिसँग प्रधानमन्त्रीलगायतका पदमा गोरुलेझैँ सिँगौरी खेल्नैपर्ने र राष्ट्रिय राजनैतिक जीवनमा तिक्तता ल्याउनैपर्ने कारण के थियो ? कांग्रेसको महाधिवेशन विधानतः एक वर्षअघि हुनुपर्ने थियो । एक वर्षअघि महाधिवेशन भएको भए गत असोज ५ गतेभित्र महाधिवेशन नगरे कांग्रेस पार्टी खारेज हुने स्थिति आउने थिएन ।

कांग्रेस नेतृत्वका कारण स्वयं कांग्रेस र देश दिनुहँ संकटमा छ । पार्टी सभापतिको दुखद् निधन भएको स्थिति छ । उनको सकारात्मक कुरा र सादा जिन्दगीको प्रशंसा सर्वत्र छ । उनको सकारात्मक कुरालाई सम्मान गर्दागर्दै पनि संगठनात्मकरुपमा उनको कार्यकाल जति क्षतविक्षत समय कांग्रेसमा कहिल्यै रहेन। भावनामा बगेर गरिने तर्कले उनी स्वयंलाई पनि खास न्याय गर्दैन ।

उनको सरल स्वभाव, समान्य जीवनशैली, भ्रष्टाचारविहीन कार्यशैली प्रशंसायोग्य छ । संयुक्तराष्ट्र संघका महासचिव, युरोपेली संघ वा दक्षिण एशियाली सरकार तथा राष्ट्र प्रमुखको वक्तव्यमा आएको कुटनीतिक सम्मान र औपचारिक तर्कले कांग्रेस बलियो हुने छैन । उनको सबै गुणको मात्रै चर्चा उनकै नेतृत्वमा पार्टी्भित्र अन्तरघातलाई संस्थागत गर्ने शैलीमा आएको विकृति र कोठे राजनीतको चर्चा गर्ने कि नगर्ने ?

आलोचना वा प्रशंसा मात्र होइन, अब समालोचनाको जरुरी छ । लोकतन्त्रमा व्यक्तिको नेतृत्व होइन, पार्टीको नेतृत्व हो र व्यक्तिले पार्टीको प्रतिनिधित्व गर्छ? संविधान कांगेसको नेतृत्वमा आएको हो । त्यो नेतृत्वमा सुशील कोइरालाले प्रतिनिधित्व गरेका हुन् । महाधिवेशनमा कांग्रेसले नारा तय गर्यो– सुशीलको नेतृत्वमा बनायौँ संविधान ।

कांगे्रसको नेतृत्वमा बनायौँ संविधान भनेको भए लोकतान्त्रिक पनि हुन्थ्यो र संस्थागत पनि हुन्थ्यो। कांग्रेस नभनेर सुशील भन्नुपर्ने यो व्यक्ति पूजा कसरी लोकतान्त्रिक हुन्छ ? संस्थागत कुरा गरेर कहिल्यै नथाक्ने सुशीलका नाममा व्यक्तिगत नारा बनाएर सुशीललाई कस्तो श्रद्धाञ्जलि दिँदैछन् कांग्रेसहरु ? यो त राजाको पूजा युगकै सम्झना भयो किन नभन्ने ?

राजनीति भनेकै वस्तुनिष्ठ समीक्षा हो । जीवनको अन्तिम घडीमा अस्पतालसम्म जान नदिएर घरमै थुन्नेले उनलाई जीवनभर कति एकांगी बनाए होलान्, कांग्रेसीजन किन हेर्दैनन् यो पाटोबाट ? विचारको बहसका लागि महाधिवेशनमा गएकाहरु र रुपान्तरणको सपनासहित महाधिवेशनमा होमिएका कांग्रेसीजन यी सबै कुराको हेक्का किन राख्दैनन् ?

बहसबिनाको कांग्रेसको के अर्थ ? सधैँ लोकतन्त्रवादी हुनाको हिङ बाँधेको टालोले न त लोकतन्त्रवादी भइन्छ न त देश उँभो लाग्छ। साँच्चै संक्रमणमा छ देश र कांग्रेस पार्टी झन् ठूलो संक्रमणमा छ । बेलैमा सोच्न जरुरी छ । नत्र द्वन्द्वकालमा दुईचार सय घुस खाएर दिउँसो हतियार भित्र्याउन दिने पुलिस आखिर आफैँले भित्र्याउन दिएको हतियारले राति नै मारिएका थिए ।

आज जित्नैका नाममा मन नमिलीकन तन पोको पार्नुभन्दा विचार, कार्यक्रम र रणनीतिसाथ स्वच्छ प्रतिष्पर्धा गर्नु धेरै उत्तम हुन्छ । त्यसो नगरिए दुई सयको लोभमा हतियार तस्करी गर्न दिने पुलिसलाई त्यही हतियारले मारेजस्तो नियति पार्टीलाई बपौती ठान्नेका नहोस् । बेलैमा यत्ति भन्न सकिन्छ । —सेतोपाटी बाट ।

प्रकाशित मिति: २०७२ फागुन १९ गते १३:१३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी