साइनबोर्डले बनायो सहर कुरूप

काठमाडौं । काठमाडौंको बजार क्षेत्रमा यस्तो घर छैन, जुन घरमा साइनबोर्ड नहोस् । पुतलीसडक चोकको एउटै घरमा ११ वटाभन्दा बढी साइनबोर्ड राखिएको छ ।

जुन घरमा कानुनी परामर्श केन्द्रदेखि कपडा पसलसम्मले ‘यहाँ यस्तो पाइन्छ’ भनेर साइनबोर्ड राखेका छन् ।

राजधानीकै व्यस्त चोकमा पर्छ, असन चोक । चोकैमा रहेको इन्द्रमान महर्जनको घरमा तीन वटा फेन्सी पसल, एउटा पार्लर, एउटा जुत्ता चप्पल, एउटा मेडिकल, एउटा मोबाइल पसल पनि छ । उनी पाँचौ तलामा बस्छन् । त्यसको अतिरिक्त तीन वटा त गैरसरकारी संस्थाका कार्यालय छन् । ती सबैले आ–आफ्ना साइनबोर्ड झुन्ड्याएका छन् । मेडिकल हलले पहिलो तलाको वारपार हुने गरी साइनबोर्ड राखेको छ ।

उनले सबै कोठा भाडा लगाएका छन् । उनलाई आफ्नो घर कस्तो भन्न पनि गाह्रो भइसकेको छ । ०७२ को दसैैंमा घरमा रङरोगन गर्न खोज्दा साह्रै समस्या प¥यो । भित्तैभरि राखिएका साइनबोर्ड हटाउन आग्रह गर्दा कसैले नमानेपछि रङरोगन गर्न नपाएको उनी बताउँछन् । उनले भने, ‘घर त राम्रो छ नि, साइनबोर्डले आफ्नो घर नै अर्काको झैँ भइसक्यो ।’

राजधानीका सडक छेउका सबैजसो घरमा कुनै न कुनै कार्यालय राखिएका हुन्छन् । कार्यालय नभए पसलसमेत राखिएका हुन्छन् ।

ती सबैले आफ्नो पसलको प्रचार–प्रसार गर्न साइनबोर्ड झुन्ड्याएका हुन्छन् । उनीहरूका लागि साइनबोर्ड नै प्रचार–प्रसारको माध्यम बनेको छ तर उनीहरूले साइनबोर्ड राख्दा कर भने तिरेका हुँदैनन् । काठमाडौं महानगरपालिकाले राजधानीका घर–घरमा राखिएका साइनबोर्ड हटाउन भने पनि ती बोर्ड  हटाइएका छैनन् ।

काठमाडौंका बजार क्षेत्रभित्र कति यस्ता साइनबोर्ड छन् भन्ने महानगरपालिकालाई पनि थाहा छैन । महानगरपालिको यस आर्थिक वर्ष ०७२÷७३ का लागि चार अर्ब ६ करोड सात लाख ८७ हजार विनियोजन गरेको छ । त्यसमध्ये करिब ६१ करोड ३४ लाख दुई हजार तीन सय ७० खर्च गरिसकेको छ ।

त्यसैगरी, महानगरले चालु वर्षभित्र आन्तरिक आयतर्फ एक अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ आय संकलन गर्ने लक्ष्य लिएको थियो । घर–घरका साइनबोर्ड हटाउन थालेपछि अहिले फागुन मसान्तसम्म मात्रै पनि एक करोड ९० लाख राजस्व उठाइसकेको छ ।

महानगरले दुई वर्षमा राजधानीका सडक र घर–घरमा राखिएका होडिैङ बोर्ड निकालेर बिक्री गर्दा १५ लाख रुपैयाँ आम्दानी भएको राजस्व महाशाखाका प्रमुख महेशकुमार काफ्लेले बताए ।

महानगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम पारित गर्दा सहरी हरियाली प्रवद्र्धन गर्न ‘एक वडा–एक बगैँचा’ कार्यक्रम कार्यान्वयन गर्ने बताएको थियो । महानगरलाई सुन्दर र हराभरा बनाउने लक्ष्य लिएको भए पनि महानगरभित्रका यस्ता साइनबोर्डले सहरलाई कुरूप बनाएको र त्यसलाई व्यवस्थापन गर्नेतर्फ कुनै कार्यक्रम बनाएको छैन ।

काठमाडौं महानगरपालिकाका निमित्त विभागीय प्रशासन प्रमुख हरि कुँवर भन्छन्, ‘महानगरले दुई वर्षदेखि घर–घरका साइनबोर्ड हटाउन थालेको छ, अहिले तीव्र रूपमा हटाउने कार्य भइरहेको छ ।’ तर, महानगरभित्रका घरका साइनबोर्ड हटाउने योजनाचाहिँ ‘सरकारी काम, कहिले जाला घाम’ झंै भएको छ ।

यसले गर्दा घरधनी र भाडामा बस्नेबीच तिक्तता उत्पन्न हुने गरेको छ । घरधनी र भाडामा बस्नेबीच बेला–बेलामा हुने विवादले उग्ररूप लिँदा वर्षौंसम्म मुद्दा–मामिला व्यहार्ने गरेका छन् ।

प्रकाशित मिति: २०७२ चैत ३० गते १३:१५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी