‘होमनाथ न्यौपानेः नयाँ जेनरेसनका गीतकार’

सर्जकका आँखामा गीतकार न्यौपाने !

-रमेश तुफान

13588715_10208114736000435_2131337238_oनेपाल आवाज /काठमाण्डौं, १७ असार, ०७३। रवि र कविहरुको अग्रणी जिल्ला ईलामबाट राजधानी छिरेका होमनाथ न्यौपाने परिचित गीतकार हुन् । लोक, आधुनिक, राष्ट्रभावले रुझेका गीतहरुले उनलाई गीत लेखन जस्तो बौद्धिक पंक्तिमा लोकप्रिय बनायो । यद्यपी उनले कविता, पप, गजल, भजन, विज्ञापन तथा चलचित्रका विधामा धेरै गीत लेखेका छन् । हालसम्म उनले करिव ४ सय जति गीत लेखेका छन् । ती मध्ये करिव ६४/६५ वटा गीतहरु रेकर्ड भईसकेका छन् ।

यतिबेला गीतकार न्यौपाने केही फरक धार र धारणाबाट गुज्रिरहेका छन् । उनी आफूलाई नयाँ जेनरेसनका गीतकारको रुपमा उभ्याउन प्रयत्नरत छन् । “गीत संगीतको बजारमा लामो समयदेखि पुरानै धारका शब्द, संगीतहरु हावी छन् । यसले बजारलाई अपेक्षित रुपमा माथि लैजान सकेको छैन । यो बिधा पनि निरन्तर गतिशिल हुनु आवश्यक छ । नयाँ पुस्ताको जिम्मेवारी भनेको पुरानो पुस्ताले जहाँसम्म ल्याएको छ, त्यो भन्दा गतिशिल, परिमार्जित र ब्यापक बनाउने हो ।” न्यौपाने भन्छन्, “बजारमा संगीत क्षेत्रको अनियन्त्रित बिकास र बिस्तार भईरहेको छ । शब्द सिर्जना रक्षात्मक अबस्थामा छ । गीत सिर्जना गर्नु मात्र ठुलो नभएर बजाउनु र श्रोताको मन जित्नु ठुलो कुरा हो । सामथ्र्य, चिनजान, हल्ला गर्न सक्नेहरुको पहुँचमा समग्र उद्योग अल्झिएको छ । यसलाई चिरेर अगाडी लैजानु छ ।’’ त्यही असहज बजारमा अविचलित यात्रामा छन् युवा गीतकार न्यौपाने । “लगानी, लगन, अध्ययन, सीप र प्रतिफलमा अविचलित यात्रा कायम रहे सबैको दिन आउँछ’’ यस क्षेत्रप्रति उनी उत्तिकै आशावादी भएको आभास दिन चाहन्छन् । साञ्चै नै आज उनको लगन, लगानी र अध्ययन, सीप र अविचलित स्वभावले उनलाई यो स्थानमा पु¥याएको छ ।

hom 6

२०३५ सालमा जितपुर–५ मा जन्मिएका न्यौपानेका परिवारमा दुई भाइ, दुई बहिनी, श्रीमति, छोरी र बुबा आमा छन् । उनका बुबा भानुभक्त न्यौपाने पेशाले कवि तथा नेपाली शिक्षक हुन् भने आमा सामान्य गृहिणी ।
उनलाई जान्ने बुझ्नेहरु भन्छन् उनी सानै उमेरदेखि कविता, गीत, नृत्य प्रतिभामा अगाडी देखिन्थे । न्यौपाने कक्षा १० मै पढ्दा पहिलो पल्ट जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिए र प्रथम भए । उनले १४ बर्षको उमेरमा जीवनको पहिलो गीत लेखे, ‘आऊ आऊ ए मैच्याङ मेरो छेऊ छेऊ, कात्तिकेमा च्यान्टी मादल बजाईदेऊ’ । यो गीत ईलामको मंगलबारेमा सम्पन्न क्षेत्रीय साँस्कृतिक कार्यक्रमको प्रतियोगितामा पहिलो हुन सफल भयो । यस पछि उनको सांङ्गितिक यात्रामा २०४९ सालमा अर्को गीत थपियो गाउँको क्लबको देउसीलाई । त्यो  गीत थियो “फूल्यो मखमली आयो है तिहार” । उक्त गीत २०६८ सालमा डेनी निरौलाको संगीत र कुवेर राईको स्वरमा रेकर्ड भयो र उनको दोस्रो एल्बम ‘हिमालको चन्द्र’मा समाबेश गरिएको छ । उक्त गीतहरु उतिबेला नै ईलाममा लोकप्रिय भएको पूर्वेली लोक गीत संकलक तथा गायक देवी गौतम बताउँछन् ।
यात्रा अविचलित रुपमा अगाडि बढिरह्यो । न्यौपानेले कलेजका प्रतियोगितामा भाग लिंदै धरानमा  बि. टेक (फूड)  अध्ययन गरे र २०५९ सालमा राजधानी छिरे । राजधानी छिर्नुको उनको उद्देश्य शिक्षा र संगीतलाई अगाडी बढाउनु थियो । बि. टेक (फूड) सकेर केही बर्ष कामको अनुभव लिएर न्यौपानेले Ace Institute of Management मा एम. बी.ए. अध्ययन शुरु गरे । एम. बी.ए. पछि  न्यौपानेले सानै उमेरमा नेपालको चर्चीत ब्राण्ड नेबिको बिस्कुटको सि. ई. ओ. को जिम्बेवारी सम्हाल्ने अवसर पाए र उक्त ब्राण्डलाई स्थापित पनि गराए । उनका दुईवटै सपना पुरा भए भन्दा फरक नपर्ला । उनको नेतृत्वमा नेबिको प्रा. लि. नेपालकै सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी भएको छ भने उनको संगीतप्रतिको लगावले उनलाई गीतकारका रुपमा स्थापित बनाएको छ ।
राजधानी छिरेपछि उनले रामकृष्ण ढकालको स्वरमा वि.सं. २०५९ मा ‘आफैलाई ती आँखामा लुकाइदिऊँकी’ भन्ने गीत रेकर्ड गराएर सांगितिक भीडमा आफूलाई उभ्याउने पहल गरे । हाल सम्म आइपुग्दा उनले वि.सं. २०६४ मा ‘चेतना’, २०६९ मा ‘हिमालको चन्द्र’ र २०७२ मा ‘होराइजन’ गरी ३ वटा गीतिसंग्रह बजारमा ल्याइसकेका छन् । हालै उनीद्वारा लिखित गीति संग्रह ‘होराईजन’ मा चार वटा गीत समावेश भएको यस एलबमलाई गायक भविन ढुंगानाले स्वर दिएका छन् । यस एल्वममा सचिन सिंह, प्रवेश मल्लिक, दीपक  भट्टराई र भविन ढुंगानाको संगीत रहेको छ ।
उनी आत्म सन्तुष्टिका लागी गीत लेख्ने गरेको बताउँछन् । उनका गीतमा प्रेम, पीडा, रहरहरुका बिम्बहरुको शुन्दर ढङ्गले संयोजनहरु पाईन्छन् साथै प्रेम पीडामा समेत रोमाञ्चकताको मिश्रण उनका धेरै गीतहरुमा सुन्न र हेर्न पाइन्छ ।
‘टाढा टाढा नजाउ तिमी पर्खिएरै मन थाक्नेछ
साथ सम्झेर आँखाभरी आँशुका थोपा छल्कि झर्र्नेछ ।
घाउ सम्हाल्न आऊ ब्यथा बढेको दिन
यो शीर ओताउन आऊ झरी परेको दिन ।’

न्यौपानेका रिलिज भएका चर्चित गीतहरुमा अञ्जु पन्तको स्वरमा रहेको ‘टाढाटाढा नजाउ तिमी’, कर्म ग्याल्छेन तथा शिवानी मोक्तानको स्वरमा  रहेको ‘मायानै हो’, मुरारी गुरागाईको स्वरमा रहेको राष्ट्रिय गीत ‘म ज्यूँदो लास बन्न चाहन्न’ संजीव पराजुलीको स्वरमा रहेको ‘झिलमिल झिलमिल तारा जस्तै’, शिव परियार तथा साथीहरुको स्वरमा रहेको राष्ट्रिय गीत ‘हिमालको चन्द्र’ डी. बि. खड्काको स्वरमा रहेको  ‘आँखामा के छ के’ तथा होराइजनमा भविन ढुंगानाले गाएको ‘वर्षियो आज मेरो मन’ चर्चित छन् ।

hom2
न्यौपाने बि. सं २०६९ मा कालिका अवार्ड र २०६९ मै अनुपम म्युजिक पोखराबाट पुरस्कृत भएका छन् भने विभिन्न संघसंस्था तथा समूदायबाट सम्मानित भएका छन् ।
गीतकार न्यौपानेको सुझाव छ, ‘कलाकारले पहिला संस्कार र अनुशाशन सिक्न आवस्यक छ । त्यसपछि आवस्यक छ सहि रियाज, अभ्यास र सहकार्यको । अहिलेका केही गायक गायिकाहरु असाध्यै राम्रा छन् भने धेरै नयाँ पिंडीले सिक्न बाँकी छ ।’
संगीत बजारतर्फ उनको धारणा यस्तो छ, ‘सरकारले बजार सुरक्षामा ध्यान दिनु पर्छ । बजार ब्यबस्थित भयो भने रोयल्टि ब्यबस्थित हुन्छ । सबै गैर कानुनी बिक्री बितरणलाई कानुनी दायरामा ल्याउन सकिन्छ । अनि मात्र सर्जकहरुको बौद्धिक सम्पत्तिको जगेर्ना गर्न सकिन्छ । बजारमा आउने हरेक किसिमका गीत संगीतको गुणात्मक पहिचान गर्न सकिन्छ । पहिलाको तुलनामा संचारमाध्यमको विकास र सहकार्यसँगै गायक–गायिका, संगीतकार जस्तै सर्जक पनि फ्रन्ट लाइनमा आउन थाल्नु समग्र रचनाकारका लागि सुखद पक्ष भएपनि बाँच्न सक्ने आर्थिक पक्षको बिकास नहुनु दुखद पक्ष हो ।’
उनको बिचारमा एउटा सर्जकको सफलता उसको अर्थ र पारिवारिक सम्बन्धसँग जोडिएका हुन्छन । “संगीत सिर्जनामा रहने मान्छे पारिवारिक, आर्थिक तनावबाट मुक्त हुनु पर्दछ । श्रीमान श्रीमती, बुबा आमा, साथी भाई सबै सँग खुशीको माहौल आउनु पर्दछ । तनावका सिर्जना केवल तनावका लागि मात्र सुहाउँदा हुन्छन् । तनावमा  सिर्जना  त गर्न सकिएला तर समग्रतामा उक्त सिर्जनामा कस्ले खुशी खोज्न सक्ला र ?”
न्यौपाने नेपाली संगीत क्षेत्रमा आफ्ना बल बर्कत खन्याएर गीतकारको अग्र पंतिमा त उभिएका छन् । यस क्षेत्रमा उनले सोचेजस्तै ब्यवस्थित वाताबरण बनाउन यस क्षेत्रका सर्जकहरुले के कसरीे साथ दिन्छन् र भविष्यमा उनलाई उनको प्रयासले कुन स्थानमा पु¥याउँछ ? सिंङ्गो संगीत क्षेत्रले प्रतिक्षा गर्नु पर्ने नै छ । सत्य यही हो, हाम्रो हावापानी, संस्कृति र माटो सुहाउँदो सिर्जनाको बिषयबस्तु रोज्नु उपयुक्त हुन्छ र सिर्जनालाई न्याय दिन सक्ने संगीतकार, गायक–गायीका र उत्पादक÷वितरकको पहिचान हुन सके सबैलाई राम्रो हुन्छ । यी सबै पक्ष भएको सर्जक नै नयाँ जेनरेसनको सर्जक हुन सक्दछ । उक्त गुण न्यौपानेसँग पाईन्छ ।

सर्जकका आँखामा गीतकार न्यौपाने

संगीत क्षेत्रममा उनीसँग बिद्यालयदेखि संगत गरेका संगीतकार हुन डेनी निरौला । सम्भवत संगीतकार निरौला नै न्यौपानेका धेरै गीतहरुमा संगीत दिने र उनलाई नजिकबाट चिन्ने संगीतकार हुन । संगीतकार निरौला न्यौपानेकै शब्दमा रहेको “खसालेरै आँशु पनि गर्छे मायाँ” बोलको गीतमा नेपाल साँस्कृतिक संस्थानद्वारा आयोजित राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा संगीत तर्फ प्रथम भएका थिए भने सोही प्रतियोगितामा गायिका झुमा निरौला न्यौपानेकै शब्द तथा डेनी निरौलाकै संगीतमा “बाल्या रैछौ बत्तीहरु मलाई जलाउन”  बोलको गीतमा स्वरतर्फ प्रथम भएकी थिइन । न्यौपाने र निरौला अधिराज्यब्यापि सबै प्रतियोगितामा जमेको जोडी हो । न्यौपानेको शब्द र निरौलाको संगीतमा झलक संग्रौला, मुरारी गुरागाईं, झुमा निरौला, लगायतका गायक गायिका रेडियो नेपाल द्वारा आयोजित अधिराज्यब्यापी आधुनिक गीत प्रतियोगितामा पुरस्कृत भएका छन् । २०६८ सालमा यो जोडीको सोलो एल्वम हिमालको चन्द्र बजारमा आयो । उक्त एल्वमबाटै गीतकार न्यौपानेले कालिका म्यूजिक अवार्डको नवौं संस्करणमा राष्टिय सर्बोत्कृट राष्टिय गीत तर्फ अवार्ड थापे ।
संगीतकार निरौलाकोे बुझाईमा न्यौपाने कस्ता गीतकार हुन त ? उनको बुझाई यस्तो छ, “मैले बाल्यकालदेखि नै चिनेको होम न्यौपाने असल मित्र हुँदै आज एक सिद्दहस्त गीतकार र कुशल प्रशासक बन्न सफल भएका छन् । वहाँसंगको मेरो मित्रता धेरै पुरानो हो । हामीहरू स्कूल लेभल देखिनै आ–आफ्नो स्कूलबाट प्रतिस्पर्धीको रूपमा हुन्थ्यौं । कहिले वहाँको स्कूलले बाजी माथ्र्याे त कहिले मेरो स्कूलले । एसएलसी पछि हामी क्याम्पस पढ्न आ–आफ्ना बाटा लाग्यौ । २÷४ बर्षपछि हाम्रो भेट काठमाण्डौमा भयो । त्यो भेट हुँदा वहाँ गीतकारको रूपमा आफुलाई चिनाउन प्रयत्नरत रहेको कुरा बताउनु भयो । म पनि संगीतकारको रूपमा चिनीन खोज्दै थिएँ । त्यसपछि हाम्रो भेट लगातार हुन थाल्यो । वहाँको गीति लेखन राम्रो छ । बिम्ब प्रयोग गरेर लेख्न माहिर होम न्यौपाने साथी भाइसँग मिलनसार ब्यक्तित्व पनि हुनुहुन्छ । मैले अहिलेसम्म वहाँ रिसाएको देखेको छैन । संधैं मिठो बोल्ने र केही सहयोग गर्नु परे साथीभाइका लागि मरिमेटेर लाग्नु हुन्छ । संगीतको धेरै ज्ञान वहाँमा छ । संगीत गरिसकेर गीत सुनाउँदा त्यो गीतको बारेमा कमेन्ट गर्न सक्ने क्षमता छ । एउटा राम्रो गीतकार हुनलाई सामान्य सुर तालको ज्ञान आवस्यक हुन्छ । त्यो चिज वहाँमा धेरै नै छ । वहाँको गीतमा मायां प्रेमका कुराहरू बढी भेटिन्छन । त्यसै गरी देश प्रेमका कुरा पनि धेरै भेटिन्छन् ।’

DSC_2984न्यौपानेका शिक्षक समेत रहेका गौतमले न्यौपाने शिक्षकहरुको आँखामा अब्बल रहेको बताउनुहुन्छ । वहाँ भन्नुहुन्छ “होमनाथ न्यौपाने सानैदेखि टाठा छात्र थिए । त्यतिबेलै उनी शिक्षकहरुका आँखामा परेका थिए । नाँच्न गाउन दुवैमा अघि सर्थे । उनले क्षेत्र, जिल्ला र अञ्चल स्तरीय कार्यक्रममा सहभागी भएर थुप्रै पुरस्कारहरु जितेका छन् ।”
प्राज्ञ तथा गायक एवम संगीतकार कोमल निरौलाको आँखामा न्यौपानेका शब्द परिस्किृत छन् र कतिपय शब्दहरुले आधुनिक संगीत क्षेत्रलाई थप उचाईमा पु¥याउने क्षमता राख्दछन् ।

हाल जापानको टोकियोमा रहेका संगीतकार दिपक भट्टराईले नेपाल आवाजको जिज्ञासामा न्यौपानेलाई यसरी चिनाए, ‘गीतकार होमनाथ न्यौपाने नेपाली साहित्य, गीत तथा कविता लेखनमा एउटा यस्तो नाम हो जुन विगत पन्ध्र वर्ष देखि निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँ जति राम्रो गीतकार हुनुहुन्छ त्यति नै राम्रो मिलनसार, सहयोगी अनि आत्मियता भएको व्यक्ति हुनुहुन्छ । वहाँको पहिलो गीत रेकर्ड गराउने अवसर मैले नै पाएको थिएँ । ती दिनहरु सम्झँदा अहिले पनि आनन्द महसुस हुन्छ । वहाँलाई सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छ ु।’

त्यसै गरी हाल अष्ट्रेलियाको सिडनीमा रहेका गायक सन्जिव पराजुलीले भने, ‘करिब एघार वर्ष अघि होमनाथ न्यौपाने दाईसँग मेरो पहिलो भेट भएको थियो । त्यो भेटमा, हाम्रो चिनजान धेरै वर्ष पहिलेदेखि नै भएको जस्तो आत्मीयताको आभास मैले दाईबाट पाएँ । म वहाँको सरल र शालिन व्यक्तित्वबाट अत्यन्त प्रभावित छु । वहाँका केहि मर्मस्पर्शी शब्दका गीतहरु मैले पनि गुनगुनाउने अवसर पाएको छु । वहाँको रचनाहरु विषयको केन्द्रमा रही रचिएको जस्तो मलाई लाग्दछ । सरल, साहित्यिक, मार्मिकका साथै अन्य विधाहरूमा, वहाँको कलम कौशलताको म ठुलो प्रसंशक हुँ । दाईको कलम यसरी नै निरन्तर चलिरहोस् र अरु धेरै मनहरू जित्न सफल हुनुहोस्, हार्दिक शुभकामना छ ।’

प्रकाशित मिति: २०७३ असार १७ गते १५:३२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी